हेटौंडा/मकवानपुरको विभिन्न स्थानबाट प्रहरीले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ। आईतवार बिहान करिब ९ बजेको समयमा हेटौंडा -१० स्थित बसपार्कमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट १९ वर्षीय ईन्ताज आलमलाई नियन्त्रणमा लिएको छ ।
उनको साथबाट ५ किलो ४०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । यस्तै आज दिउँसो करिब १:४५ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिकाबाट ६ किलो २ सय ३५ ग्राम लागुऔषध चरेससहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका-७ प्रहरी कार्यालय अगाडि चेकजाँच गर्दा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना३च७४०४ नम्बरको कारबाट १०० ग्राम चरेस बरामद गरेको हो।
प्रहरीका अनुसार कार चालक बाराका २१ वर्षीय याकुब खान र कारमा रहेका अन्य ४ जनालाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा बाराका २० वर्षीय मुकेश राम भन्ने मुस्तकी राम, पर्साका २० वर्षीय इरमान आलम र २१ वर्षीय सोयल मिया रहेका छन्।
उनिहरुलाई पक्राउ गरेपछि थप सोधपुछमा उनीहरूले मनहरी-६ का ४२ वर्षीय रामनारायण श्रेष्ठबाट लागुऔषध लिएको बताएपछि श्रेष्ठको घर खानतलासी गर्दा थप ६ किलो १३५ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठसहित सबै पक्राउ परेका सबैलाई अदालतबाट ७ दिनको म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।








