हेटौँडा – आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडामा मतदान केन्द्रको तयारी पूरा भएको छ।
हेटौँडा-४ स्थित भुटनदेवी मावि परिसरमा रहेको मतदान केन्द्रमा बुधबार अन्तिम तयारी सम्पन्न भएको हो। निर्वाचन अधिकृत श्रीप्रसाद संजेलका अनुसार बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
उनले अपाङ्गता भएका लगायत विशेष अवस्थाका मतदातालाई सहयोग गर्ने व्यवस्था रहेको बताए। सुरक्षा र व्यवस्थापनका लागि सर्वदलीय बैठक पनि बसेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरी हेटौँडामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा शान्ति सुरक्षाको उच्च व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले जानकारी दिए।
बुधबारदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएको र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको प्रहरी उपरीक्षक सिताराम रिजालले बताए।
हेटौँडा-४ को भुटनदेवी माध्यमिक विद्यालयमा दुईवटा मतदान केन्द्र रहेका छन्।








