हेटौंडा/राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले बिहीबार प्रदेशका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई अपाङ्गता भएका व्यक्तिको हकहित सुनिश्चित गर्न आग्रह गरेको छ।
अपाङ्गताका सवालमा विद्यमान नीतिगत प्रावधान तथा पुर्नस्थापना सम्बन्धी अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले राज्यले अपाङ्गताको क्षेत्रमा कम लगानी गरेको आरोप लगाए । उनले स्थानीय तहमा निर्माण भएका सरकारी भवन, शौचालय अझै अपाङ्गमैत्री नहुँदा समस्या भोग्नु परेकोमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामाग्री प्राविधिक जाँच बिना वितरण हुँदा नकारात्मक असर परेको उनको भनाई छ ।
संघ, प्रदेश र स्थानीय तहले अपाङ्गता भएका व्यक्तिको हक अधिकार सुरक्षित गर्न नसकेको राष्ट्रिय अपाङ्गता महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालको भनाई छ । अपाङ्गता भएका व्यक्तिको हक अधिकार, सशक्तिकरण र विकासका लागि तीन तहका सरकार प्रतिवद्ध भई कार्यान्वयनमा ल्याउन आवश्यक रहेको उनको भनाई छ ।
महासंघका अनुसार स्थानीय तहले योजना बनाउँदा अपाङ्गता भएका व्यक्तिलाई समेट्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्छ। साथै अपाङ्गता क्षेत्रमा लगानी बढाउन पनि आग्रह गरिएको छ।
महासंघले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष ध्यान दिन स्थानीय तहलाई निर्देशन दिएको छ।








