मकवानपुरको चिनारी काठको ठेकी लोप भएपछि अब दारको ठेकी संरक्षणमा जोड दिइएको छ। दारको ठेकी संरक्षणका लागि पिप्लेपोखरा सामुदायिक वनमा २५ जनालाई तालिम दिइएको छ।
आयोजक एवम् प्रदेशसभा सदस्य भारती पाठकले दारको ठेकीको लागि प्रसिद्ध मकवानपुरमा पछिल्लो समय ठेकी लोप हुने अवस्थामा पुगेको भन्दै तालिमको आयोजना गरी मकवानपुरको पहिचानलाई स्थापित गर्न खोजेको बताउनुभयो।
२० दिने तालिमबाट लोप हुँदै गएको दारको ठेकीलाई पुनः स्थापित गर्ने उद्देश्य राखिएको छ। मकवानपुर दारको ठेकीका लागि चिनिए पनि पछिल्ला वर्षमा यसको संख्या घट्दै गएको छ।
दारको रुख संरक्षण र प्रवद्र्धन गर्न भीमफेदीमा दार पकेट क्षेत्र घोषणा गरिएको छ भने ३५०० भन्दा बढी दारका बिरुवा रोपिएका छन्। तालिमबाट दारको ठेकीलाई पुनः स्थापित गर्ने लक्ष्य राखिएको छ।
सामुदायिक विकास तथा सचेतना नेपालको आयोजना तथा एफएओ र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौँडा –५ पिप्लेमा ठेकी बनाउने तालिम दिन सुरु गरिएको हो ।








