हेटौंडा/हेटौँडामा मंगलबारबाट सुरु भएको छैटौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लब सर्लाहीले विजयी सुरुवात गरेको छ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटनमा खेलमा भुटानको पारो एफसीलाई ३–१ ले हराउँदै बागमतीले विजयी सुरुवात गरेको हो।
बागमतीको जितमा राजन भुसालले दुई तथा श्रीजन गौतमले एक गोल गरे। यस्तै, पारो एफसीका तर्फबाट सेरब दोर्जीले एक गोल फर्काए। खेलको ‘म्यान अफ द म्याच’ दुई गोल गरेका राजन भुसाल भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत बुधबार हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुने आयोजकले जनाएको छ। २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष पनि १२ टिमको सहभागिता रहेको छ।







