हेटौंडा/बागमती युवा क्लब, सर्लाही मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा बागमतीले आयोजक रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।
निर्धारित समयमा २-२ को बराबरी भएपछि टाईब्रेकरमा बागमती ४-२ ले विजयी भयो। बागमतीका अभि लामा र अनिल राना मगरले गोल गरेका थिए।
बागमती युवा क्लबका गोलरक्षक रौनक चौलागाईले म्यान अफ द म्याचको अवार्ड जितेका छन्।
उनी खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए। चौलागाईको रोमाञ्चक बचावले बागमतीलाई सेमिफाइनलमा पुर्याउन मद्दत पुर्याएको थियो।
मकवानपुर गोल्डकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लब, काठमाडौं र रारा फुटबल क्लब, धनकुटाबीच प्रतिस्पर्धा सोमबार (माघ २२ गते) हुने आयोजकले जानकारी दिएको छ ।विजेता टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ।







