मकवानपुर गोल्डकपको फाइनल खेलमा एपीएफ क्लब र न्यूरोड टिमबीच आज प्रतिस्पर्धा हुँदैछ। हेटौंडाको गौरीटार रंगशालामा जारी छैटौं शहीद स्मृति खेलले आज नयाँ विजेतालाई जन्म दिनेछ किनभने दुवै टोलीले यसअघि उपाधि जित्न सकेका छैनन्।
गौरीटार रंगशालामा हुने यो खेलले दर्शकहरूलाई रोमाञ्चक प्रतिस्पर्धाको अनुभव दिनेछ र नयाँ च्याम्पियनको जन्म हुनेछ।
मकवानपुर गोल्डकप फाइनलका लागि दुवै टिमका प्रशिक्षक र कप्तानहरू उत्साहित देखिन्छन्। एपीएफ र एनआरटी दुवै टोलीले यसअघि उपाधि जित्न सकेका छैनन्, त्यसैले यो उनीहरूका लागि इतिहास रच्ने अवसर हो।उनीहरू यस अवसरको सदुपयोग गर्न उत्सुक छन् र मकवानपुर गोल्डकपको इतिहासमा आफ्नो नाम लेखाउन पनि तयार रहेको बताए।
मकवानपुर गोल्डकपको इतिहास हेर्ने हो भने २०६४ मा पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो। त्यसपछि १३ वर्षसम्म प्रतियोगिता हुन सकेको थिएन। प्रतियोगिताका लागि २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहले निरन्तर सहयोग गर्ने भएपछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।
२०७७ देखि स्थानीय तहको सहयोगमा पुनः सुरु भएको हो। २०७५ को दोस्रो संस्करणको उपाधि मकवानपुर-११ ले हात पारेको थियो।२०७७ र २०७८ को उपाधि त्रिभुवन आर्मी क्लबले दुई पटक जितेको थियो।२०७९ को पाँचौं संस्करणको उपाधि भने मनाङ मर्याङ्दीले जितेको थियो।
यो पटक बागमती प्रदेश सरकार पनि प्रायोजकमा थपिएको छ।प्रदेश सरकार र १० वटा पालिकाले प्रायोजन गरेका छन्।आज विजेताले १५ लाख रुपैयाँ र शिल्ड पाउनेछ भने उपविजेताले १० लाख रुपैयाँ र शिल्ड पाउनेछ। साथै सर्वोत्कृष्ट खेलाडीले करिब ५ लाख मूल्य बराबरको बुलेट मोटरसाइकल पाउनेछन्। खेल आज दिउँसो २ बजे पछि शुरू हुने आयोजक समिति ने जानकारी दिएको छ ।







