हेटौंडा/फागुन १ गतेदेखि हुने छैठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८० को खेल तालिका आइतबार सार्वजनिक गरिएको छ।
बागमती गाउँपालिका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो।
बागमती गाउँपालिका ८ स्थित जनता माविको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लब र सर्लाहीको बागमती युथ क्लबबीच हुनेछ। फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा आयोजक बागमती खेलकुद विकास समितिसहित २ विभागीय टिम, ५ ए डिभिजन क्लब र २ मोफसलको टिम सहभागी रहेको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिएका छन ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने श्रेष्ठले बताए।
जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, बागमती गाउँपालिकाका ४ नं. वडा अध्यक्ष दन्तलाल माझीलगायतको उपस्थिति रहेको थियो।








