हेटौंडा – हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले मंगलबार आफ्नै जग्गामा निर्माण गरेको क्रिकेट खेल मैदानको उद्घाटन गर्दै क्रिकेट एकेडेमी सञ्चालन गर्ने घोषणा गरेको छ।
विद्यालयको रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रममा मंगलबार भएको क्रिकेट मैदान उद्घाटनमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले क्रिकेटलाई शिक्षासँग जोड्ने योजनासहित सुविधासम्पन्न होस्टेल सहित एकेडेमी सञ्चालन गर्ने घोषणा गरेका छन्।
उनले भने, “क्रिकेटलाई विद्यालयको पाठ्यक्रमको एक अंशका रूपमा लिइने छ र व्यावसायिकरुपमा पनि सञ्चालन गरिनेछ। विद्यार्थीहरुलाई पूर्वक्रिकेटर तथा राष्ट्रिय टिमका खेलाडीहरुको प्रशिक्षणमा क्रिकेट खेल्न सिकाइनेछ।”

कार्यक्रममा नेपाली क्रिकेटका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेटर शरद भेषवाकर, बागमती प्रदेश संघका क्रिकेट निर्देशक अनिल अधिकारी, बागमती प्रदेश क्रिकेट संघका सदस्य सन्जोग पोखरेल, नेपाल क्रिकेटका टेक्निकल एनालिष्ट रवि थापा,राष्ट्रिय खेलकुद परिषद् (क्यान) का केन्द्रीय सदस्य करण महत्रा क्षेत्रीलगायतले आ-आफ्नो धारणा राखेका थिए।
उक्त कार्यक्रमलाई सफल बनाउन विद्यालयका प्रिन्सिपल गौरीदेवी चिमोरिया, प्रमुख कार्यकारी अधिकृत रमेश रिमालसहित विद्यालयका शिक्षकहरुले पनि महत्वपूर्ण सहभागिता रहेको थियो।
मैदान उद्घाटनसँगै माधव राज सुमार्गी स्मृति अन्तर माध्यमिक विद्यालय टी-२० क्रिकेट प्रतियोगिता हेटौंडा एकेडेमीको रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार (आज) माधव राज सुमार्गी स्मृति अन्तर माध्यमिक विद्यालय टि २० क्रिकेट प्रतियोगिता भएको थियो । मकवानपुर अन्डर १६ टिम र आयोजक हेटौंडा एकेडेमीबिच भएको क्रिकेट प्रतियोगितामा हेटौंडा एकेडेमी ९ रनले विजयी भएको थियो । प्रतियोगितामा हेटौंडा एकेडेमीका दक्ष चौधरी म्यान अफ द म्याच घोषित भए । नेपाल यू १९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले ब्याटिङ गरेर क्रिकेट खेल मैदानको उद्घाटन गरेका हुन् ।







