हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि कृषि मन्त्री बेदुराम भूसालले नेपालमा कृषिको विकासबाट मात्रै समृद्धि सम्भव रहेको बताए। कृषि र पशुपालनमा प्रविधिको प्रयोग जरुरी रहेको उनको भनाइ छ।
उनले कृषिका लागि आवश्यक मल, बिउ, सिंचाइ सुविधाको उचित व्यवस्थापन गर्न सकिएमा मात्र कृषि क्षेत्रको विकास र आर्थिक वृद्धि सम्भव हुने बताए।सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए।
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले समानुपातिक विकासलाई महत्व दिएको बताएकी छिन्।
नगरप्रमुख लामाले , “हामीले उपमहानगरपालिकाका सबै वडाहरूको समानुपातिक विकासमा जोड दिएका छौँ। सबै वडाहरूको पूर्वाधार विकास र सेवा सुविधामा पहुँचलाई सुनिश्चित गर्न हाम्रो प्राथमिकता रहेको छ।” उनले मुलुकको विकासका लागि कृषि र पशुपालनको महत्वबारे चर्चा गरेका थिए।
कार्यक्रममा उपमहानगरले उत्कृष्ट कृषक, उद्यमी, खेलाडी, करदाता, वडा,शिक्षक, कलाकार,पत्रकार, कर्मचारी, सामाजिक संघसंस्था, स्वास्थ्य स्वयंसेवी, टोल विकास संस्था, बाल समूह र जग्गादातालाई सम्मान गरेको हो।
कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, नेपाली कांग्रेस मकवाानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका उपसचिव सीता विष्ट, नेकपा माओवादी केन्द्रका सागर बानियाँ, नेकपा एकीकृत समाजवादी अध्यक्ष विष्णुप्रसाद दाहाल, जनता समाजवादी पार्टीका सोमबहादुर घलान, नगरस्तरीय बाल सञ्जालका सचिव प्रकृति भण्डारीलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।








