बागमती/ मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।
आइतबारको अन्तिम क्वाटरफाइनलमा आयोजक बागमती खेलकुद विकास समितीलाई ४-० गोलले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आर्मीका लागि जिलेस्पी जंग कार्की, रास बुढा मगर, फत्तेमान घल र कमल थापाले एक-एक गोल गरे। खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
आर्मीले अब मंगलबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी पनि सेमिफाइनल प्रवेश गरिसकेको छ।
सोमबार मछिन्द्र र न्युरोड टिमबीच पहिलो सेमिफाइनल हुनेछ। प्रतियोगिताको फाइनल फागुन १० गते हुनेछ। विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।







