केपी ओली कप फुटबलको प्रचारका लागि राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।
सोमबार हुने सेभेन ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि युवा संघ मकवानपुरले प्रेस चौतारीलाई जर्सी हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा नेकपा एमाले मकवानपुर जनवर्गीय सङ्गठनका सहसंयोजक आरती पाठक, युवा संघ बागमती प्रदेशका कोषाध्यक्ष नरेन्द्र भण्डारी, जिल्ला अध्यक्ष राजेश नगरकोटी, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला कोषाध्यक्ष प्रतीक्षा न्यौपानेलगायतको सहभागिता थियो ।
खेलकुद राष्ट्र र स्वास्थ्यका लागि अनिवार्य हुने भन्दै मैत्रीपूर्ण प्रतिस्पर्धा आयोजना गरिएको युवा संघ मकवानपुरका अध्यक्ष नगरकोटीले बताए। यो प्रतियोगिताले केपी ओली कपको प्रचार हुनुका साथै दुई संगठनबीचको सम्बन्ध सुमधुर हुने अध्यक्ष अधिकारीले बताए।
फागुन ११ देखि १९ गतेसम्म काठमाण्डौंमा हुने केपी ओली कप फुटबल प्रतियोगितालाई लक्षित गर्दै यो प्रतिस्पर्धा हेटौँडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहान ८ बजे हुनेछ। उद्घाटन कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल सहभागी हुनेछन्।







