हेटौँडा/बागमती प्रदेश सरकारले हेटौँडामा सार्वजनिक विश्वविद्यालय स्थापनाका लागि विधान स्वीकृत गरेको छ। मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश उच्च शिक्षा ऐन २०७८’ बमोजिम विश्वविद्यालय स्थापना तथा सञ्चालनको विधान स्वीकृत गरेको हो।
बैठकले प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापनाका लागि सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति समेत दिएको छ। प्रदेश विश्वविद्यालयका लागि आवश्यक भौतिक संरचना, जग्गा, मापदण्ड लगायतका विषयमा अध्ययन तथा अनुगमन गर्न र कार्यप्रगति मूल्यांकन गर्न मन्त्रिपरिषद्ले मन्त्रालयलाई निर्देशन दिएको छ।
स्वीकृति अनुसार विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार र मापदण्ड मूल्यांकन गरी थप संरचना निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिइएको छ।
बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतको सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका र प्रदेश स्वयंसेवक ब्यूरो गठनका लागि कार्यविधि पनि स्वीकृत गरेको छ। प्रदेशमा विपद्जन्य घटना हुँदा परिचालन गर्ने गरी चालु आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको र सो कार्यान्वयनका लागि तयारी गरिएको मन्त्री लामाले बताए।







