हेटौंडा/राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन गर्दा मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रथम स्थानमा रहेको छ। १० वटा स्थानीय तहमध्ये हेटौँडाले ३७.११ अंक प्राप्त गर्दै प्रथम भएको हो।
मंगलबार मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ। स्थानीय तहको कार्यसम्पादनको आधारमा वित्तीय समानीकरण अनुदानको अंक निर्धारण गरिने गरेको आयोगले बताएको छ। मूल्याङ्कनमा थाहा नगरपालिका ३६.६६ अंकसहित दोस्रो भएको छ।
मकवानपुरमा कार्यसम्पादन कमजोर देखिएको अर्को पालिका बागमती गाउँपालिका छ, जसले १६.२२ अंक मात्रै प्राप्त गरेको छ। १७ सूचकमध्ये १४ मा मात्र स्थानीय तहको मूल्याङ्कन भएको हो। कार्यसम्पादनमा इन्द्रसरोवर गाउँपालिकाले २५.५२, कैलाशले ३२.५२, महनरीले २९.८४, भीमफेदीले ३१.९१ अंक प्राप्त गरेका छन्।
त्यस्तै मकवानपुरगढीले ३१.९७, बकैयाले २४.८४ र राक्सिराङले २४.२४ अंक पाएका छन्। मूल्याङ्कनका कैयौँ सूचकमा स्थानीय तहको अंक शून्य रहेको छ। हेटौँडा र थाहाको अंक सर्वाधिक देखिएको छ।
७ प्रदेशमध्ये कोशी प्रदेश मूल्याङ्कनमा ३० अंकले प्रथम भएको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले क्रमशः २२.३१, २७.२९, २३.०७, १६.९९, २०.९८ र २१.०८ अंक पाएका छन्।
आयोगले कार्यविधि २०७८ अनुसार मूल्याङ्कन गरेको बताइएको छ। नतिजामा चित्त नबुझेमा ७ दिनभित्र आधार र प्रमाणसहित पुनरावलोकनको लागि निवेदन दिन सकिने आयोगले जनाएको छ।







