हेटौंडा /हेटौंडा–९ स्थित मोर्डन इङ्लिस माध्यमिक विद्यालयमा शुक्रबार ‘जनप्रतिनिधिहरुसँग बालबालिका शैक्षिक बहस’ कार्यक्रम गरिएको छ।
विद्यालय बाल क्लबका अध्यक्ष रिजन अधिकारीको अध्यक्षता र वडा ९ का अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा वडा अध्यक्ष केसीले वडा नं ९ लाई नमूना वडा बनाउने बताएका थिए। विद्यार्थीका प्रश्नको जवाफ दिँदै उनले वडालाई लागूऔषध मुक्त बनाउने प्रतिवद्धता जनाएका छन्। वडा अध्यक्षले वडालाई सुन्दर बनाउन योजना बनाइएको बताए ।
कार्यक्रममा लागूपदार्थ दुव्र्यसनी सम्बन्धी विषयमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्चार्थ तथा प्रहरी निरिक्षक दिनेश कुँवरले सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक सुदिप बर्तौलाका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीलाई स्थानीय तहको काम, योजना, बजेट लगायतका विषयमा जानकारी गराउनु रहेको छ। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई हरेक क्षेत्रमा काम गर्न सक्ने क्षमता को विकास गराउने उनको भनाई छ।
कार्यक्रममा ९ नम्वर वडा सदस्य तथा बाल मैत्री सम्पर्क व्यक्ति कमला पौडेल, विद्यालयका संस्थापक श्यामकृष्ण खतिवडा, संस्थागत विद्यालय शिक्षक संगठन (इस्टु) राष्ट्रिय समितिका उपाध्यक्ष दिपक गौतम, निजि विद्यालय शिक्षक अभिभावक संघकी अध्यक्ष रमिला सापकोटा, ९ नम्वर बालमैत्री वडा सहजकर्ता आशिष खतिवडालगायतको आतिथ्यता रहेको थियो ।
विद्यार्थीहरूले विभिन्न विषयमा प्रश्न गर्दै जनप्रतिनिधिबाट जवाफ लिएका थिए।कार्यक्रममा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।








