हेटौंडा/नेपाल मगर संघ जिल्ला कार्यसमिति मकवानपुरले मंगलबार हेटौंडामा मगर समुदायको सांस्कृतिक कार्यक्रम गर्दैछ।
कार्यक्रम मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा हेटौंडा-४ स्थित हुप्रचौरमा आयोजना हुन लागेको मकवानपुर मगर संघ जिल्लाका अध्यक्ष सन्देश तुम्सिङ मगरले आज पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
कार्यक्रम विस्तृत रूपमा आयोजना गरिने, १० वटै स्थानीय तहको सहभागिता रहने,मगर समुदायसँग आबद्ध गुठी, संघ संस्था र उपसमितिहरूको प्रतिनिधित्व रहनेमगर समुदायको कौरा र घुम्डा नृत्य प्रस्तुत हुने चर्चित कलाकारहरूको गीत, संगीत र नाचको प्रस्तुती रहने तुम्सिङले बताए।
तेस्तै स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकार सहभागी हुने मगर समुदायको सांस्कृतिक पहिचानको प्रदर्शन हुने छ भने कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्ने जानकारी दिएका छन।
कार्यक्रमको लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमको आर्थिक व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकाले १ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएको छ। यस्तै, स्थानीय सरकार, हेटौंडाका विभिन्न वडा कार्यालय, राक्सिराङ र मनहरी गाउँपालिकालगायतका स्थानीय निकायहरुले पनि आर्थिक सहयोग गरेको आयोजक बताएको छ।
मगर सांस्कृतिक कार्यक्रमको पत्रकार सम्मेलनमा नेपाल मगर संघ बागमती प्रदेशका उपाध्यक्ष खेमराज मगर, प्रशासन सचिव रामकुमार थापा, उपाध्यक्ष उर्मिला राना र सल्लाहकार कृष्णासारू मगर सहितको उपस्थिति रहेको थियो।








