मकवानपुरमा दादुरा रुवेला खोप अभियान सुरु भएको छ। हेटौंडा-९ स्थित रस्सल एकेडेमी खोप केन्द्रबाट आइतबार औपचारिक रूपमा कार्यक्रमको सुरुवात गरिएको हो।
हेटौंडा-९ का वडाध्यक्ष एवं वडा खोप समन्वय समितिका अध्यक्ष शुकराज केसीको सभाध्यक्षमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा खोप अभियानको शुभारम्भ गरिएको थियो।
फागुन १९ गतेसम्म चल्ने अभियानअन्तर्गत ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइनेछ।
दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दादुरा रुबेला खोप नलगाएमा अन्धोपन, पखाला, कान पाक्ने लगायत गम्भीर रोग हुन सक्ने भएकाले सबै बालबालिकाले नियमित खोप लगाउन आग्रह गरिएको छ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई,स्वास्थ्य शाखा हेटौँडा उपमहानगरपालिका शाखा प्रमुख सूर्य तिवारी, मकवानपुरको खोप फोकल पर्सन जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल लगायतको सहभागिता रहेको थियो ।








