हेटौँडा/ बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताका लागि मकवानपुरका ११५ खेलाडीको बन्द प्रशिक्षण सोमबारदेखि सुरु भएको छ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले बागमती प्रदेशमै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै खेलाडीहरुलाई उज्वल भविष्यको शुभकामना व्यक्त गरे । पछिल्लो समय लागूऔषध दुव्र्यसनले युवाहरु ग्रसित भएको उल्लेख गर्दै उनले खेलाडीहरुलाई लागूऔषधबाट टाढा रहन सुझाव दिइन् ।
हेटौंडा स्कूल अफ म्यानेजमण्टका प्रमुख पुरणबहादुर जोशीले अनुशासित भएर खेल्दै जिल्लाको नाम राख्न शुभकामना दिएका छन् । कार्यक्रममा एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डे, मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, सितोरियो कराते संघका अध्यक्ष दीपक लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रपति रनिङशिल्डको प्रदेश प्रतियोगितामा सहभागिताका लागि हेटौंडा उपमहानगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले जानकारी दिए । बन्द प्रशिक्षपश्चात् ९८ खेलाडी, १५ अफिसियल र २ जना नेतृत्वसहित ११५ जनाको टोली चितवन प्रस्थान गर्नेछ ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडा-४, हुप्रचौरमा हुने एक साताे बन्द प्रशिक्षणका लागि हेटौँडा उपमहानगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गरेको छ।
गत संस्करणमा मकवानपुरले एथ्लेटिक्सतर्फ ६ स्वर्ण जितेको थियो।







