हेटौंडा-२ को बालजागृति इंग्लिस सेकेन्डरी स्कुलले फागुन २२ गते बालमैत्री विद्यालयको रूपमा घोषणा गरिने भएको छ।
विद्यालयले हेटौंडा उपमहानगरपालिकाले तोकेका सबै २६ मापदण्ड पूरा गरेको प्रिन्सिपल विनोद सुवेदीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । घोषणा कार्यक्रममा विशेष कार्यक्रमसमेत हुनेछन्।
उक्त दिन विभिन्न कार्यक्रममा बाल विशेषज्ञको सहभागितामा स्वास्थ्य परीक्षण, विभिन्न झाँकी, महिलाको पञ्चे बाजा र प्रभातफेरी हुनेछन्। त्यसपछि औपचारिक कार्यक्रममा विद्यालयलाई बालमैत्री घोषणा गरिने प्रिन्सिपल सुवेदीले बताएका छन्।
आफूहरुले विभिन्न हर्चुष सँगै चुनौतीलाई आत्मसात गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सक्रिय रहेर काम गर्ने सुवेदीले बताए।
तेस्तै कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिना लामाको प्रमुख आतिथ्यता रहनेछ भने अभिभावक, विद्यार्थी, वडाका प्रतिनिधि र अन्य विद्यालयका प्रधानाध्यापकहरू सहभागी हुने कार्यक्रमको आयोजना गरिएको छ। विद्यालयमा हाल १५ सय ३४ विद्यार्थी अध्ययनरत रहेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्यक्षता तथा वडा नम्बर २ का कार्यवहाक अध्यक्ष सुरज बर्तौलाको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरिएको थियो ।
कार्यक्रममा वडा सदस्यद्धय मैया परियार र इन्द्रप्रसाद रिजाल, विद्यालयका प्रिन्सिपल विनोद सुवेदी, वडाका बाल सहजकर्ता राहुल शर्मा, बालजागृति बाल समूहका अध्यक्ष कीशाङ्गी अर्यालको आतिथ्यता रहेको थियो ।








