हेटौंडा/मकवानपुरगढी गाउँपालिका-३ धमिलेफाँटका कृषक गोकर्ण पराजुलीले लगाएको ४ कठ्ठा क्षेत्रफलमा सूर्यमुखी फुल फुलिरहेको छ।

पराजुलीले प्रति कठ्ठा १०० केजीको दरले सूर्यमुखी उत्पादन हुने अनुमान गरेका छन्। उनका अनुसार यस वर्ष करिब १ लाख ५० हजार रुपैयाँबराबरको सूर्यमुखी बिक्री गर्ने लक्ष्य छ।
विदेशबाट धेरै मागअर्डर आएको छ भने समयमै बिक्री हुने आशा छ,” पराजुलीले भने।

मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीका अनुसार धमिलेफाँटमा अरु कृषकले सूर्यमुखी खेती गरेका छैनन्। तर जिल्लाका हेटौंडा, बकैया लगायतका क्षेत्रमा पनि सूर्यमुखी खेती देखिन थालेको छ।
“यस वर्षको उत्पादन र बजार मूल्य राम्रो पाइएमा अगामी वर्षदेखि जिल्लाभर नै सूर्यमुखी खेतीको क्षेत्रविस्तार हुने सम्भावना देखिन्छ,” कृषि प्राविधिक कान्तले बताए।

केही वर्षअघिसम्म मकवानपुरमा सूर्यमुखी खेती भए पनि बजारीकरणको समस्याले गर्दा यो खेती घटेको थियो। तर पछिल्लो समय बजार सहज हुँदै गएकाले फेरि कृषकहरू यसतर्फ आकर्षित भएका हुन्।
सूर्यमुखी विशेष गरी तेलका लागि लगाइने बाली हो ।







