हेटौंडा/ बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको दाबी सत्ता गठबन्धनमा रहेका दलहरूले गरिरहेका छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री आफ्नै पार्टीबाट गराउनुपर्ने दाबी गरिरहेका छन्। प्रदेशको मुख्यमन्त्री बन्ने कुरा केन्द्रीय नेतृत्वको निर्णयबाट नै टुंगिने भएकाले दुवै दलले शीर्ष नेतृत्वमा दबाब बढाइरहेका छन्।
अघिल्लो गठबन्धनमा मुख्यमन्त्री रहेका शालिकराम जम्मकट्टेल संघीय सरकारको समीकरण फेरिएपछि प्रदेश सरकारले पनि समर्थन फिर्ता लिएको छ।
माओवादी केन्द्रका संसदीय दलका उपनेता प्रेमबहादुर पुलामी केन्द्रीय गठबन्धन फेरिए पनि प्रदेशमा नेतृत्व फेर्नुपर्ने बाध्यता नरहेको बताउँछन्।
तर, नेकपा एमालेका प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ पहिलेको गठबन्धनमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिइसकेकाले यसपटक आफ्नै दललाई दिनुपर्ने बताउँछन्। एमालेका प्रदेशस्तरका नेतृत्वले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने दबाब केन्द्रमा बढाइरहेको छ।
सरकार गठनका लागि नेकपा एकीकृत समाजवादी पार्टी पनि निर्णायक बन्न सक्छ। प्रदेशसभामा ७ सदस्य रहेको समाजवादी पार्टी माओवादी र एमालेसँग सहमति नजुटेमा आफ्नै नेतृत्वका लागि दाबी गर्ने र गठबन्धन सरकार गठन गर्न केन्द्रलाई दबाब दिने तयारीमा छ।
तर, बागमती प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र समाजवादीका ७ गरी ५५ सदस्य रहेकाले मात्र पनि सरकार बनाउन आवश्यक ५६ को संख्या पुर्याउन सकिँदैन। यसका लागि हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन अपरिहार्य देखिन्छ।







