हेटौंडा/मकवानपुरका तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरिएको छ।
मंगलबार आयोजित एक कार्यक्रममा थाहा नगरपालिका-७ डाँडावासका इमान सिंह थिंग, मनहरी गाउँपालिका-७ रमौलीकी मुना अर्याल र हेटौँडा-१७ का झम्कनाथ सुवेदी सुवेदीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो।
डाँडावास कृषि प्रालिमार्फत बाख्रा र तरकारी खेती गर्दै आउनुभएका थिंगलाई २५ हजार नगद सहित सम्मानित गरिएको छ। यस्तै, रवि व्यावसायिक कृषि फार्ममा कागती र ड्रागनखेती गर्दै आउनुभएकी अर्यालले पनि पुरस्कार पाउनुभएको छ। त्यसैगरी, विविआर एग्रो प्रालिबाट बोयर जातको बाख्रा पालन गर्दै आउनुभएका सुवेदीले पनि सम्मान प्राप्त गर्नुभएको छ।
पशु सेवा कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईँले पुरस्कृत कृषकहरूलाई सम्मानित गर्नुभएको हो।
मकवानपुरका विभिन्न स्थानबाट ११ वटा प्रस्तावमध्येबाट बनाइएको मापदण्डअनुसार उक्त तीन जना कृषकलाई पुरस्कृत गरिएको पशु सेवा कार्यालयका प्रमुख डा.बज्रकिशोर ठाकुरले बताउनुभयो।
पुरस्कारका लागि छनोट भएका कृषकलाई २५ हजार रुपियाँ नगदसहित सम्मान गरिएको थियो।








