हेटौंडा/हेटौँडा उपमहानगरपालिका तथा नगर खेलकुद विकास समितिले आगामी चैत २४ गतेदेखि ‘मेयर कप फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्ने भएको छ।
मंगलबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदै नगर खेलकुद विकास समिति हेटौँडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले वडास्तरीय टिमहरूबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सम्बन्धित वडाका स्थायी बासिन्दा हुनुपने र नागरिकताको प्रमाण पेश गर्नुपर्ने जानकारी दिएका छन्।
उपमहानगरपालिकाले यस प्रतियोगिताका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतियोगितामा प्रथम पुरस्कार २,००,०००द्वितीय पुरस्कार १,५०,००० तृतीय पुरस्कार रु ५०,००० तथा विधागत पुरस्कारहरू २५,००० देहायबमोजिमका पुरस्कार रकम रहने घिमिरेले जानकारी दिएका हुन्।
सहभागी टिम दर्ता चैत १५ गतेसम्म नगर कार्यपालिकाको कार्यालय वा नगर खेलकुद समितिमा गर्नुपर्नेछ। यस प्रतियोगितालाई फिफा नियमअनुसार नकआउट प्रणालीबाट सञ्चालन गरिने छ।
उपमहानगरपालिकाले यस प्रतियोगिताको आयोजना वडास्तरबाट नगरस्तरीय फुटबल टिम निर्माण गर्ने उद्देश्य रहेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताएका छन्।
नगरस्तरीय फुटबल टिमको तयारीका लागि आयोजना हुन लागेको यस प्रतियोगिताको उद्घाटन हेटौँडा-५ स्थित क्याम्पा रंगशालामा दिउँसो १ बजे गरिने छ।







