हेटौंडा/बागमती प्रदेशको ठूलो दल नेपाली कांग्रेसले तत्काल आफ्नो नेतृत्वमा सरकार गठन नगर्ने भएको छ।
मंगलबार बसेको संसदीय दलको बैठकपछि कांग्रेस उपनेता रामकृष्ण चित्रकारले अहिलेलाई सरकार गठनको पहल नगर्ने बताएका छन्। “हामी तत्काल सरकार गठनको नेतृत्व लिँदैनौं, केही समय प्रतीक्षा गर्छौं,” उनले भने।
वर्तमान सरकारका नेता शालिकराम जम्कट्टेलले विश्वासको मत लिने तयारी गरिरहेकाले केही समय कुरेर हेर्ने कांग्रेसको निर्णय छ।
११० सदस्यीय प्रदेशसभामा एकल बहुमत कसैको छैन। ५६ सदस्यको बहुमत चाहिन्छ। हाल गठबन्धनमा रहेका एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीसँग मिलेर ५५ सदस्य मात्र छन्। त्यसैले निर्णायक बन्ने सकेको छ हाम्रो नेपाली पार्टीको २ सदस्य।
आफ्नो पार्टीसँगै ३७ सदस्य रहेको कांग्रेसले बैठकपछि सरकारलाई तत्काल बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेको छ। संवैधानिक निकायमा नियुक्ति नगर्न र दीर्घकालीन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरिएको छ।
कांग्रेसले अब सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने र मन्त्रीहरुको राजीनामा अनुमोदन गर्ने निर्णय गरेको छ।







