हेटौंडा/हेटौंडा जेसीजको आयोजनामा सम्पन्न अष्टकुमारी स्मृति टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेशनल इन्फोटेक कलेज वीरगञ्ज, पर्साले जितेको छ।
हेटौंडा-४ स्थित हुप्रचौरमा भएको फाइनल खेलमा नेशनल इन्फोटेक कलेजले हेटौंडा स्कुल अफ म्यानेजमेन्टलाई पराजित गर्यो। विजेता टोलीले नगद ५० हजार र उपविजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
आयोजक संस्था हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले विजेता, उपविजेता तथा सर्वोत्कृष्ट खेलाडी, बलर र ब्याटरलाई पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा हेटौंडा, चितवन, बारा र पर्साका गरी ४ जिल्लाको सहभागिता थियो। कार्यक्रम संयोजक सुमन अर्यालका अनुसार प्रतियोगिता सञ्चालनमा करिब ५ लाख रुपैयाँ खर्च भएको थियो।
अर्यालले अगामी वर्षदेखि प्रतियोगितालाई अझै उच्च स्तरीय र सहभागी संख्या बढाउने योजनामा रहेको बताउँछन्।







