हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी-२०८० आयोजना हुने भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले चैत्र २ देखि ६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यक्ता” भन्ने नाराका साथ प्रदर्शनी गर्न लागेको हो।
समितिकी सभापति अंकिता सुमार्गीका अनुसार, ११ वर्षपछि आयोजना गरिने यस प्रदर्शनीमा महिला उद्यमीहरुको हस्तकला उत्पादन, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनीसँगै कृषि सम्बन्धी स्टलहरु पनि रहनेछन्। ३७ वटा स्टलहरु रहने यस प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौँ, नुवाकोट, ईटहरीदेखिका उद्यमीहरुले स्टल बुक गरेका छन्।
निःशुल्क प्रदर्शनी तथा अवलोकनको व्यवस्था गरिएको यस प्रदर्शनीमा महिला उद्यमीहरुको बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनीसमेत हुनेछ। यस अवसरमा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलतासम्बन्धी प्यानल छलफल र कृषिविषयक खुल्ला अन्तरक्रिया समेत हुनेछन्।
मकवानपुरा जिल्लाका उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीको पत्रकार सम्मेलन समारोहमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, संचार उद्यमी अरुणराज सुमार्गी लगायतको उपस्थिति रहेको थियो।







