हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिका वडा १ मा आगामी शनिबार तेस्रो संस्करणको ‘६ ए रिभर साइट क्रिकेट प्रतियोगिता’ हुने भएको छ। रेड स्वाइल क्रिकेट क्लबको आयोजना र मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो।
बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले प्रकृतिक वातावरण संरक्षण गर्न, प्रकृतिमा समाहित हुन र बाह्य माहोलमा घुलमिल गराउन प्रतियोगिताको आयोजना गरिएको जानकारी गराए। पिकनिकको ढङ्गले सञ्चालन हुने प्रतियोगितामा खेलाडीहरूलाई निशुल्क खाना र नास्ताको व्यवस्था मिलाइएको छ।
अनुप प्रसाद सेनुरियाको संयोजकत्वमा हुने प्रतियोगितामा कर्रा सुपर किङ, गोदावरी स्टिल, शुभ डेरी, भ्याबसन क्रिकेट क्लब, निपटा क्रिकेट क्लब र हेटौंडा एकेडेमी गरी ६ वटा टिमले सहभागिता जनाउने छन्। खेलाडी टिमको दर्ता शुल्कबाट प्रतियोगिता आयोजनाका लागि सहयोग जुट्नेछ।

गतवर्ष ६ वटै टिमको सहभागिता रहेको यस प्रतियोगितामा यसपटक समय अभावका कारण ६ वटा टिममात्र सहभागी गराइएको संयोजक सेनुरियाले बताए। लिग प्रणालीमा हुने प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट बलर, ब्याटर र प्लेयर अफ द सिरिजलाई पनि पुरस्कृत गरिने छ।
यस वर्ष प्रतियोगितामा पुरस्कार राशि बढाइएको छ भने करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गतवर्ष हेटौंडा एकेडेमी विजेता र निपटा क्रिकेट क्लब उपविजेता बनेको थियो।
कार्यक्रम मकवानपुर जिल्ला क्रीकेट संघका सस्थापक अध्यक्ष अरुण राज सुमार्गिको प्रमुख आतिथ्यमा भएको थियो भने बिनोद बानियाँले संचालन गरेका थिए ।







