हेटौंडा/ वैदेशिक रोजगारीसँग जोडिएका समस्या समाधानका लागि हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया र मनहरी गाउँपालिकामा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम’ सञ्चालित छ। शुक्रबार हेटौंडामा पत्रकारहरूसँगको अन्तरक्रियामा सामी परियोजनाले आफ्नो कार्यक्रमको प्रभावकारिताबारे जानकारी गराएको छ।
परियोजनाले विदेश जान चाहनेहरूलाई आवश्यक सूचना तथा परामर्श, विदेशमा रहेकाहरूको परिवारलाई वित्तीय शिक्षा तथा मनोसामाजिक परामर्श र वैदेशिक रोजगारबाट फर्केकाहरूबाट सूचना तथा अनुभव आदानप्रदान गराउने जस्ता काम गरिरहेको छ। परियोजना संयोजक अञ्जिता थापा मगरले विदेश जानुअघि आवश्यक कागजपत्र, सिप र भाषाको पूर्वतयारीबारे परामर्श दिइने बताएकी छन्।
परियोजनाको परामर्श र वित्तीय साक्षरता कार्यक्रमले वैदेशिक रोजगारीको जोखिम घटाउन सघाएको सरोकारवालाहरूले बताएका छन्। फर्केकाहरू र परिवारलाई वित्तीय साक्षरता कक्षामार्फत आर्थिक व्यवहार परिवर्तन, पारिवारिक बजेट र फजुल खर्च कटौतीमा परियोजनाले प्रोत्साहन गरिरहेको संयोजक मगरले बताइन्।
वैदेशिक रोजगारीको क्रममा ठगिएकाहरूलाई न्यायमा पहुँच बढाउन परामर्श र सहायता प्रदान गरिने गरेको पनि उनले बताइन्। नेपालबाट प्रतिवर्ष ५ लाख भन्दा बढी श्रमशक्ति वैदेशिक रोजगारमा जाने गरेको र ती मध्ये ७१ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। दैनिक सरदर २ हजार २ सय जनाले वैदेशिक रोजगार स्वीकार गरेका छन् भने मलेसिया र खाडी मुलुकहरू प्रमुख गन्तव्य रहेको परियोजनाले जनाएको छ।








