हेटौंडा/साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १४औं स्थापना दिवस विशेष अवसरमा वृद्धाश्रमका आश्रितहरूलाई भोजन आयोजना गरी मनाएको छ।
सहकारीले हेटौँडा-१५ रातोमाटेस्थित दिव्य सेवा निकेतन (जेष्ठ नागरिक आश्रयस्थल)मा गई त्यहाँ आश्रित ३० जना वृद्ध/वृद्धाहरूलाई पूरा दिनभरको भोजन आयोजना गरेको हो।
कार्यक्रममा सहकारीकी अध्यक्ष रेखा खतिवडाले वृद्धहरूको हेरचाहलाई नजिकबाट नियालेर आफूहरूले घरका अभिभावकहरूलाई अझ बढी माया र सम्मान दिनुपर्ने मानसिकता बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। विगतमा पनि सहकारीले स्थापना दिवसमा विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू गर्दै आएको छ।
आश्रयस्थलका केन्द्रीय अध्यक्ष तेजराम निरौलाले आश्रममा नै उत्पादित अर्गानिक खाद्यान्नहरू जस्तै तरकारी, दूध, दही लगायत आश्रितहरूलाई खुवाइने बताउँदै सेवा र सहयोगको धारणा जनमानसमा बढ्दो क्रम देखिएकोमा खुशी व्यक्त गर्नुभयो।

हेटौँडा-१८ हर्नामाडीमा रहेको उक्त सहकारीमा ९९८ जना महिला सदस्य आवद्ध छन् भने २०५ वटा समूहहरू रहेका छन्। १३४२ जनाले नियमित बचत गर्दै आएका छन्। सहकारीको शेयर पुँजी १ करोड २ लाख २३ हजार, जगेडा कोष १ करोड ४४ लाख ४८ हजार ८७५, निक्षेप संकलन ५ करोड २५ लाख २ हजार ३७७ र १९ लाख नाफा रहेको सहकारी व्यवस्थापक माधव पुडासैनीले जानकारी दिनुभयो।

सहकारीले मल बिक्री वितरण, दुध संकलन, कृषि औजार वितरण, धान पकेट कार्यक्रम, अदुवा पकेट कार्यक्रम लगायतका सेवाहरू संचालन गर्दै आएको छ।







