हेटौंडा/मनहरी गाउँपालिका-३ हाँडीखोलास्थित लामिटारका बासिन्दालाई वर्षौंदेखि जंगली जनावरको समस्याले सताउँदै आएको छ। तर, अब उनीहरूले यो समस्याबाट मुक्ति पाउने भएका छन्।
लामिटार क्षेत्रमा बस्तीमा जंगली जनावर छिर्न नदिन वनको २ किलोमिटर क्षेत्रमा ६ फिट अग्लो मेस जाली लगाइँदैछ। मनहरी गाउँपालिका र वडा नम्बर ३ कार्यालयको विशेष अनुरोधमा पर्सा राष्ट्रिय निकुञ्जको बजेटबाट यो काम सुरु भएको हो।
निकुञ्जले ५० लाख रुपैयाँको टेण्डर आह्वान गरेकोमा सुविधा कन्स्ट्रक्सनले ४८ लाख रुपैयाँमा ठेक्का पारेर मेस जाली लगाउने काम थालेको छ।
बाँदर, बँदेल, मृग लगायतका जंगली जनावरको आतंकका कारण लामिटारवासी वर्षौंदेखि सास्ती खेप्दै आएका थिए। “खेतबारीमा बाली लगाउँदा जंगली जनावर धपाउन रातभरि नै खेतमा बसेर हिरासत गर्नुपर्ने बाध्यता थियो। अहिले जाली लगाउने काम सुरु भएकाले यस वर्षबाट यस्तो समस्या हट्नेछ भन्ने विश्वास लिएका छौं,” लामिटारका जयराम राईले भने।
यसअघि जंगली जनावरबाट बाली जोगाउन खेतमा टहरा बनाएर रातभरि आगो बालेर बस्नुपर्ने र कहिलेकाहीँ टिन ठटाएर बस्नुपर्ने बाध्यता थियो।
मनहरी गाउँपालिका-३ का वडाध्यक्ष अनन्तप्रकाश अर्यालका अनुसार लामिटारको दमारटोलदेखि तल्लोटोलको शिवशक्तिश्वर मन्दिरसम्मको क्षेत्रमा जाली लगाइने छ। “बाँदर, बँदेल, मृग लगायतका जंगली जनावरले खेतबारीमा धान, मकै, तरकारी बाली नष्ट गर्ने गरेका थिए। यो समस्यालाई मध्यनजर गरेर हामीले निकुञ्जलाई जालीको व्यवस्था गर्न अनुरोध गरेका थियौं,” उनले भने, “अहिले जाली लगाउने काम तिव्र रुपमा सुरु भइसकेको छ। यसपटकबाट जंगली जनावरको समस्या समाधान हुनेछ भन्ने विश्वास लिएका छौं।”
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पनि पालिकाका धेरैजसो ठाउँमा जंगली जनावरको समस्या रहेको बताए। उनले क्रमशः जाली र झ्याड्काको व्यवस्था गरिँदै जाने बताए। उनको भनाईअनुसार ६ फिट अग्लो जालीले बस्तीमा जंगली जनावर छिर्न सम्भावना कम रहेको बताए।