हेटौंडा/मकवानपुर गढी गाउँपालिका अन्तर्गत डुम्रेकुनामा सडकको बीचबीचमा विद्युत पोल रहेकाले दुर्घटनाको जोखिम बढेको छ।
आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने डुम्रेकुनामा केही दिनअघि भ्रमण गरेका सांसद तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सडकको बीचबीचमा रहेका विद्युत पोलले दुर्घटनाको जोखिम बढाएको बताएका छन्।
“सडक विस्तार, कालोपत्र लगायतका कार्य हुँदा सडकको बीचमा रहेका विद्युत पोल सर्न नसकिएकाले यस्तो जोखिम बढेको हो,” उनले भने, “यो मकवानपुरको मात्र समस्या होइन, यो समस्या मुलुकभर नै छ।”
सडकको बीचमा विद्युत पोल रहनाले नयाँ दुर्घटना हुनसक्ने भन्दै बर्तौलाले यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माननीय सभामुखलाई अनुरोध गरेका छन्।
“विद्युत पोल सर्ने अभियान संचालन गरी सडकमा रहेका पोल हटाउने काम यथाशीघ्र गर्नुपर्छ,” बर्तौलाले भने, “यसबाट दुर्घटना रोकिनुका साथै सडकहरू प्रयोगकर्ताहरूलाई पनि सुरक्षित हुनेछन्।”
विद्युत पोललगायत अन्य संरचना सडकको बीचमा नै राखिनु सडक सुरक्षाकै दृष्टिले चुनौतीपूर्ण रहेको सांसदले बताए। उनले यसलाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिन माननीय सभामुखसमक्ष अनुरोध गरेका छन्।







