हेटौंडा/दिगो विकास लक्ष्य ८.७ अनुसार बालबालिकाका क्षेत्रमा काम गर्न बागमती प्रदेशले कार्ययोजना तयार पारेको छ। बुधवार हेटौंडामा बसेको ‘दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्च बागमती प्रदेश समिति’को बैठकले बालश्रम र बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्ययोजना तय गरेको हो।
बैठकमा प्रमुख अतिथिका रुपमा ग्लोबल मार्चकी कार्यक्रम प्रबन्धक एन्जेला सेलानो डोनेसल उपस्थित हुनुभएको थियो। बैठकले बालश्रम सम्बन्धी प्रादेशिक योजना बनाउने, श्रम मन्त्रालयमा प्रतिनिधिमण्डल पठाउने र बालबालिकाका क्षेत्रमा बजेट बृद्धिको माग गर्ने निर्णय गरेको छ।
समितिले प्रदेशका विद्यालय व्यवस्थापन समितिहरूसँग छलफल गर्ने र स्थानीय तहहरूसँग समन्वय गरी काम गर्ने निर्णय पनि गरेको छ। बैठकमा इन्टरनेशनल टे्रड युनियन कन्फेडरेशन (इतिएस्सी) नेपालका सुर्यप्रकाश राई, नारी संरक्षण केन्द्रका जेरोम घले, महिला तथा बालबालिका सरोकार केन्द्रका एलिना स्याङ्बो, कोशिसका सकुन्तला पौडेल लगायतको उपस्थिति रहेको थियो।
बैठकको अध्यक्षता दिगो विकास लक्ष्य ८.७ बागमती प्रदेशका अध्यक्ष प्रकाश खतिवडाले गर्नुभएको थियो। उहाँले बालबालिकाका सवालमा विभिन्न निकायबीच समन्वय र साझेदारी गर्न जरुरी रहेको बताउनुभयो।







