नैरोवीमा भएको सामुदायिक वनको अन्तराष्ट्रिय भेलाले नेपालकै भारती पाठकलाई अध्यक्षमा चयन गरेको छ। उक्त अन्तराष्ट्रिय सञ्जालमा १६ वटा देशको प्रतिनिधित्व रहेको छ।
बागमती प्रदेशसभाकी सदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान अध्यक्ष पाठकले अब अन्तराष्ट्रिय सामुदायिक वन सञ्जालको नेतृत्व गर्नुहुनेछ। कार्यसमितिमा अफ्रिका, ल्याटिन अमेरिका र एशियाली मुलुकहरूको समेत प्रतिनिधित्व रहेको छ।
यस सञ्जालले विश्वभरका सामुदायिक वनहरूमा रहेका आदिवासी, स्थानीय समुदाय र महिलाहरूको अधिकार सुनिश्चित गर्ने, दिगो वन व्यवस्थापन र जीविकोपार्जन तथा क्षमता अभिवृद्धिका लागि वकालत गर्नेछ। साथै, जलवायु परिवर्तनको क्षेत्रमा पनि काम गर्नेछ।
मकवानपुरकी पाठक २५ वर्षदेखि सामुदायिक वनको क्षेत्रमा सक्रिय छिन्। उनी अन्तराष्ट्रिय स्तरमा सामुदायिक वनको नेतृत्व गर्ने पहिलो नेपाली महिला हुन्। प्राकृतिक स्रोत साधन व्यवस्थापन अभियान्ता पाठकको यो उपलब्धिलाई खुसीका साथ लिइएको छ।







