“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ वडा खेलकुद विकास समिति हेटौंडा १५ को आयोजना तथा हेटौंडा उपमहानगरपालिका १५ नं. वडाको प्रमुख प्रायोजनमा अन्तरवडा स्तरीय “१५ नं. वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता-२०८०” को दोस्रो संस्करण सुरु भएको छ।
हेटौंडा उपमहानगरपालिका-१५ वडा कार्यालय र वडा खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय ‘वडा अध्यक्ष कप’ फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ।
प्रतियोगिताको शुभारम्भ नगर प्रमुख मीनाकुमारी लामा र सभाध्यक्ष सुनील मोक्तानले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख लामाले यस्ता प्रतियोगिताले स्थानीय युवाहरुमा खेलप्रतिको आकर्षण बढाउने बताइन्। उनले भनिन्, “खेलकुद र शारीरिक अभ्यासले स्वस्थ जीवन यापन गर्न सहयोग पुग्छ। हामी थप यस्ता गतिविधि सञ्चालन गर्दै जानेछौं।”
यस अवसरमा सभाध्यक्ष मोक्तानले पनि प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा उपमहानगरपालिकाका अन्य वडा अध्यक्षहरू, वडा सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक बुद्धिजीवी, दाता निकाय, पत्रकार, सुरक्षाकर्मी लगायत खेलप्रेमी दर्शकहरुको गरिमामय उपस्थिति रहेको थियो।
उद्घाटन खेलमा आयोजक १५ नं. वडाले १ नं. वडालाई २-० गोलले पराजित गरेको छ।
यस वर्षको प्रतियोगिता १७ वटै वडाबाट खेलाडीहरुको सहभागिता रहेको उपमहानगरपालिकाले जनाएको छ। प्रतियोगितामा विजेता र उपविजेता टोलीलाई नगदसहित ट्रफी प्रदान गरिने छ।







