हेटौंडा/केन्द्रमा नेपाली कांग्रेस र एमाले-माओवादी गठबन्धनबीच नयाँ सरकार गठन भएको करिब तिन हप्ता बितिसक्दा पनि प्रदेशमा सरकार गठनमा अन्योल कायमै छ।
फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोडेर एमाले र राष्ट्रिय जनमोर्चासँग सरकार गठन गरेपछि प्रदेशको राजनीतिमा तरलता आएको हो। प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत हासिल गरे पनि पाँच प्रदेशमा अहिले गठबन्धनकै सरकार अल्पमतमा रहेका छन्।
बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत बटुल्न सकस देखिंदैन। गठबन्धन अनुसार उनीहरूसँग ५५ सांसद छन् भने कांग्रेस लगायतका दलसँग ५५ नै छन्। प्रदेशसभाको बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्छ।
मुख्यमन्त्री जम्कट्टेल राप्रपा, नेमकिपा वा हाम्रो नेपाली पार्टीमध्ये एउटाको समर्थन प्राप्त गर्न प्रयासरत छन्। यदि उनले नेमकिपाको समर्थन पाउन सकेनन् भने संविधानको धारा १६८(३) बमोजिम ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ।
यसबीच कांग्रेसले राप्रपा र हाम्रो नेपाली पार्टीलाई विश्वासमा लिने र नेमकिपाको सहयोग प्राप्त गर्ने रणनीति लिएको छ। गत चैत ८ मा कांग्रेस महामन्त्री गगन थापासहितको टोलीले नेमकिपा नेता सरेन्द्ररज गोसाईँसँग भेटवार्ता गरेका छन्।







