हेटौँडा/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका छन्।
३ दिनअघि मात्र जमकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी (हानेपा) ५ बुँदे सहमति गरी सरकारमा सामेल भएको हो। हानेपा संसदीय दलका नेता समेत रहेका बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि जमकट्टेल नेतृत्वको सरकारमा कांग्रेसका ६, एमालेका ३ र एकीकृत समाजवादीका २ मन्त्री रहेकोमा कांग्रेस गठबन्धन बाहिर गएपछि सरकारमा केवल एमाले र समाजवादीका मन्त्री मात्र रहेका थिए।
बागमती प्रदेशसभामा कांग्रेससँग ३७, एमालेसँग २७, माओवादी केन्द्रसँग २१, राप्रपासँग १३, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ जना सदस्य छन्। वर्तमान सरकारको गठबन्धनमा एमाले, माओवादी र एकीकृत समाजवादीका गरी ५५ सांसद रहेका छन्।







