बागमती प्रदेशमा रहेको नेकपा एमालेसँगको गठबन्धन सरकारमा एमाले नेता जगन्नाथ थपलियालाई मन्त्री बनाउने तयारी भएको छ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिरहेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार थपलियालाई आज नै शपथ गराइने तयारी भएको बताइएको छ।
यसअघि पनि एमाले र माओवादी गठबन्धनको सरकारमा थपलिया आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन्। तर, माओवादीले एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले हालको अवस्थामा एमालेका तर्फबाट थपलिया एकजना मात्र मन्त्री बन्ने बताएका छन्। मुख्यमन्त्री जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिएपछि बाँकी मन्त्रीहरूको पनि टुंगो लगाउने तयारी रहेको पौडेलले बताएका छन्।
यसअघि २३ फागुनमा तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको साथ लिएर १९ गते विश्वासको मत लिने तयारी गरेका छन्।







