हेटौँडा/ अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ।
आज गौरीटार रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर ७ लाई १-० गोल अन्तरले पराजित गरी उपाधि जित्न सफल भएको छ। वडा नम्बर १२ का धनजित थिङले गरेको गोल नै निर्णायक बन्न पुग्यो। उनलाई नै खेलको म्यान अफ द म्याच घोषित गरिएको थियो।
उपाधिविजेता वडा नम्बर १२ ले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता वडा नम्बर ७ ले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
विधागत पुरस्कारतर्फ वडा नम्बर ७ का राजु लामा उत्कृष्ट मिडफिल्डर र रोशन दोङ उत्कृष्ट डिफेन्डर घोषित भए। वडा नम्बर १२ का आयुष गोले उत्कृष्ट गोलकिपर र साजन पाख्रिन उत्कृष्ट फरवार्ड तथा सर्वोत्कृष्ट खेलाडी घोषित भए।
विधागत उत्कृष्ट हुने खेलाडीलाई नगद २५०० रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५००० रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको यो फुटबल प्रतियोगिताको समापन समारोहमा पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, एन्फा केन्द्रीय सदस्य टीका लामा, वडा अध्यक्ष सुनिल मोक्तान जुनार लगायतले विजेता उपविजेतालाई पुरस्कृत गरेका थिए।