हेटौंडा/ मेयर कप फुटबल प्रतियोगिता-२०८० अन्तर्गत मंगलबार भएको खेलमा हेटौंडा वडा नं १ र १५ विजयी भएका छन्।
पिप्लेक्याम्पा खेल मैदानमा हेटौंडा वडा १ ले पेनाल्टी सुटआउटमा वडा १७लाई पराजित गर्यो भने वडा १५ ले वडा २लाई ५-० गोलको फराकिलो अन्तरले हरायो।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा रोकिएपछि भएको पेनाल्टी सुटआउटमा वडा १ ले ५-४ गोलअन्तरले विजय हासिल गरेको हो। वडा १ का विश्व लामा म्यान अफ द म्याच घोषित भए भने केल्मीले उनलाई विशेष उपहार प्रदान गर्यो।
अर्को खेलमा वडा १५ समक्ष वडा २ ५-० गोलले पराजित भयो। वडा नं १५ का रिकेश श्रेष्ठले २०औं र ४८औं मिनेटमा, विश्वास ब्लोनले २८औं र ३५औं मिनेटमा तथा अनिष लामाले ४१औं मिनेटमा गोल गरे। विश्वास ब्लोनलाई केल्मीले म्यान अफ द म्याच घोषित गरी उपहार प्रदान गर्यो।
हेटौंडा नगर खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा उपमहानगरका १९ वटा वडाको सहभागिता रहेको छ। विजेतालाई नगद २ लाख र उपविजेतालाई १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ।