चौथो संस्करणको हेटौंडा उपमहानगरपालिका वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ।
बुधबार भएको फाइनल खेलमा वडा नम्बर १४ लाई सडन डेथमा ६-५ गोलअन्तरले पराजित गर्दै वडा नम्बर ४ ले उपाधि चुमेको हो। निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।
प्रतियोगिताको विजेता वडा नम्बर ४ ले नगद २ लाख रुपैयाँ हात पार्यो भने उपविजेता वडा नम्बर १४ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। तृतीय हुने १५ नम्बर वडाले ५० हजार र चौथो १३ नम्बर वडाले २५ हजार रुपैयाँसहित प्रमाणपत्र पाए।
वडा नम्बर ४ का अनिश महर्जन सर्वोकृष्ट खेलाडी घोषित भए। उत्कृष्ट गोलरक्षक निरज देउला, उत्कृष्ट डिफेन्डर सुविन घलान, उत्कृष्ट मिडफिल्डर दीपेश भण्डारी र उत्कृष्ट फरवार्ड अनुप राना मगर छानिए।
हेटौँडा उपमहानगरको सहयोग तथा नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानीयाँलगायत विभिन्न वडाका वडा अध्यक्षहरु, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेलगायतले विजेतालाई पुरस्कृत गरेका थिए।
प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडाहरुको सहभागिता रहेको थियो ।