हेटौंडा/बागमती प्रदेशका सरकारी कार्यालयहरूले आगामी २४ वैशाखदेखि नेपाली, तामाङ र नेवार भाषामा साइनबोर्ड राख्नुपर्ने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली, तामाङ र नेवार भाषामा सरकारी कार्यालयका बोर्डहरू लेख्नुपर्ने निर्णय गरेको हो। २४ वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने भएकाले त्यही दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले २४ वैशाखपछि बागमती प्रदेशभरका सरकारी कार्यालयका साइनबोर्डहरूमा तीनवटै भाषा प्रयोग गरिनुपर्ने जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले सरकारी कामकाजको भाषा शुभारम्भका लागि २४ वैशाखलाई सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए। यसअघि नेपाल सरकारले नेपाली भाषालाई मात्र सरकारी कामकाजको भाषा मानेको थियो।







