हेटौंडा/विश्व रेडक्रस दिवसको अवसरमा बालजागृति युवा रेडक्रस सर्कल तथा बालजागृति इङ्गलिस सेकेण्डरी स्कुलको आयोजना र सहयोगमा बकैया गाउँपालिका-५, माझीगाउँका अग्निपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
राहत कार्यक्रममा लायन्स क्लब अफ हेटौडा लर्ड बुद्धका प्रेसिडेन्ट लायन तुलसी गिरी, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सदस्य पिताम्बर बास्तोला, बकैया गाउँपालिकाका सचिव देवराज लामिछाने र सुमन विश्वकर्मा लगायतको सहयोग रहेको थियो।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, प्रिन्सिपल बिनोद सुवेदी, शिक्षक-शिक्षिका, विद्यार्थी, बालजागृति युवा रेडक्रस सर्कल, बालजागृति स्काउट ट्रुप र सर्कलका सदस्यहरूले पनि राहत सङ्कलन र वितरणमा सहयोग गरेका थिए।
अग्निपीडित दलबहादुर राई र नरबहादुर राईका परिवारलाई नगद, ब्ल्याङ्केट र खाद्यान्न सहित राहत वितरण गरिएको विद्यालय परिवारले जनाएको छ। विद्यालयले शिक्षक, विद्यार्थी, बालजागृति युवा रेडक्रस सर्कल, स्काउट्स लगायतको सहयोगमा राहत संकलन गरी वितरण गरेको हो।
यस अवसरमा बालबालिकाहरूलाई सहयोग र सेवाभाव जागृत गर्न प्रेरणा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक बिनोद सुबेदि बताउनुभयो।









