हेटौंडा/बागमती प्रदेशमा दोस्रो पटक आयोजना गरिएको युवा सम्मेलन हेटौंडामा शुरु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज उद्घाटन गरेको युवा सम्मेलन बैशाख ३० गतेसम्म चल्नेछ।
बागमती प्रदेशका १३ जिल्लाका २ सय भन्दा बढी १६ देखि ४० वर्ष उमेर समूहका युवाको सहभागिता रहेको सम्मेलनमा युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्य रहेको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को आयोजनामा भएको सम्मेलनमा जिल्लाका सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई समावेशी अवधारणामा प्राथमिकता दिइएको छ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै युवा प्रदेश नीति, एआई, साइबर अपराधलगायतका विषयमा पनि छलफल हुने बताउनुभयो।

तीन दिनसम्म चल्ने बागमती प्रदेश स्तरीय युवा सम्मेलनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै, गत वर्ष आयोजित पहिलो युवा सम्मेलनबाट ११ बुँदे घोषणा-पत्र जारी गरिएकोमा त्यसमध्ये ७ वटा बुँदा बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको युवा परिषद्ले दाबी गरेको छ।
युवा सम्मेलनको उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, वन तथा वातावरण मन्त्री केशव प्रसाद पोख्रेल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकबाल श्रेष्ठ र श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लंसालको उपस्थिति रहेको थियो।
युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कार्यक्रमका लागि हिजो नै सहभागीहरू हेटौंडा आइपुगेका थिए।
सम्मेलनमा कलाकार राजेश हमाल, पत्रकार टिकाराम यात्री र विश्वनाथ कोइराला लगायतको सहभागिता रहेको छ। युवालाई सिर्जनशील र उद्यमशील बनाउने उद्देश्यका साथ भ्रमण पनि गराइने आयोजकले जनाएको छ। 







