हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसले शुक्रबारदेखि हेटौंडामा ‘उच्च शिक्षाका चुनौती, दिगोपना र विद्यार्थीले बीचमै पढाई छाड्ने दर न्यूनीकरण’ विषयक राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ।
उक्त दुई दिने सम्मेलनको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले गरेका छन्। करिब एक सय सामुदायिक क्याम्पसका प्राध्यापकहरु सहभागी रहेको सम्मेलनमा वाग्मती प्रदेश सरकारले प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिने बताइएको छ।
मुख्यमन्त्री जम्कट्टेलले “हामीले उच्च शिक्षामा प्राविधिक र व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौं। माध्यमिक तहमा ‘एक वडा, एक आवासीय विद्यालय’ बनाउने नीति लिइएको छ।” भनेका छन्।
उनले सैद्धान्तिक शिक्षाले बेरोजगारी र पलायनको स्थिति आएको बताउँदै व्यवहारिक शिक्षालाई जोड दिइने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. ध्रुव गौतम र प्राध्यापक डा. हिरण्य रत्न वज्राचार्यसमेतले उच्च शिक्षामा रहेका समस्या र चुनौतीहरुबारे बताए। करिब तीन सय प्राध्यापकहरुको सहभागिता रहेको उक्त सम्मेलन शनिबारसम्म चल्नेछ छ।








