बागमती प्रदेशको बकैया गाउँपालिकामा साइलेज तथा दाना उद्योग स्थापना गरी उत्पादन सुरु भएको छ।
गाउँपालिकाले सहुलियत दरमा कृषकलाई पशु आहारा उपलब्ध गराउने उद्देश्यले बकैया-७ मा यो उद्योग स्थापना गरेको हो। राष्ट्रिय योजना आयोगको ५० लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको उद्योगमा पालिकाले करिब ५ करोड रुपैयाँ खर्च गरेको छ। बागमती प्रदेश सरकारबाट पनि साइलेज उत्पादनका लागि उपकरण र आर्थिक सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए।
पालिकाले आफैँ पशु आहारा उत्पादन गरी किसानलाई सहुलियत रुपमा प्रदान गर्ने यो कार्यक्रम प्रदेशभरका पालिकामध्ये बकैया पहिलो रहेको छ। सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने भएकाले साइलेज पशु आहारका लागि उपयुक्त हुने बुझेर त्यसको समाधानका लागि उत्पादन सुरु गरिएको पालिकाले जनाएको छ।
“किसानको बारीमै गएर मकैको बोट सहित किनेर ल्याउँछौं र त्यसबाट साइलेज उत्पादन गरी सहुलियत दरमा किसानलाई नै बिक्री गर्छौं,” अध्यक्ष लामिछानेले भने, “आफैंले तयार पारेको साइलेजमा पशुका लागि आवश्यक पोषक तत्वहरु हुन्छन्, त्यसकारण यो निकै फाइदाजनक हुन्छ।”
किसानलाई पीठो तथा चोकरको मूल्य महँगो पर्ने भएकाले साइलेज खुवाउँदा उत्पादन लागत पनि कम पर्ने बताइएको छ। पहिलो चरणमा पालिकाभित्रका कृषकलाई पुग्ने गरी उत्पादन गरिने र विस्तारै अन्य पालिकामा समेत निर्यात गर्ने तयारी रहेको पालिकाले जनाएको छ। उद्योग सञ्चालनमा आएसँगै प्रत्यक्ष रुपमा ३० जनाले रोजगारी पाएका छन्।







