मनहरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनाको अवधिमा गरेका मुख्य कामहरुको विवरण सार्वजनिक गरेको छ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकास लगायतका क्षेत्रमा गरेका मुख्य कामहरुको जानकारी गराएको हो। गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर लगायतको उपस्थितिमा कार्यप्रगति प्रस्तुत गरिएको थियो।
पूर्वाधार तर्फ मनहरी गाउँपालिकाले करिब ५ किलोमिटर सडक स्लाब ढलान, ६ किलो मिटर नयाँ सडक निर्माण र ३ किलोमिटर नाला निर्माणसँगै २४ किलोमिटरभन्दा बढी खानेपानी पाइपलाइन विस्तार गरेको बताइएको छ।
साथै, आफ्नै आन्तरिक स्रोतबाट गत आवमा निर्माण थालिएका ५ वटा पक्की पुल मध्ये ३ वटा सम्पन्न गरिएको छ भने बाँकी २ वटाको काम पनि नजिकिँदै गरेको गाउँपालिकाले जनाएको छ।
यस्तै आंशिक अपाङ्गता भएकालाई निर्वाह भत्ता दिन थालिएको, ९ घरबार बिहिन विपन्न परिवारलाई घर निर्माण अभियान सुरु गरिएको र आगामी आवमा आफ्नै भवन निर्माण गर्न लागिएको पनि बताइएको छ।
गाउँपालिका अध्यक्ष कालाखेतीले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम स्थानीयको आवश्यकतालाई मध्यनजर गरी ल्याउने प्रतिबद्धता जनाएका छन्