मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम गाउँसभामा सार्वजनिक गरेको छ। बुधबार बसेको १५ औं गाउँसभामा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
नीति कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष कालाखेतीले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकता दिइने र सामाजिक तथा भौतिक पूर्वाधार विकासलाई जोड दिइने बताउनुभयो। उहाँले “शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार समृद्ध मनहरीको आधार” भन्ने मूल नारा रहेको र सामाजिक एकताको भावनासाथ समृद्ध मनहरी निर्माणको लक्ष्य लिइएको बताउनुभयो।
अध्यक्ष कालाखेतीले आगामी आवमा कृषि उत्पादनको बजार सुनिश्चितता, बालीको समर्थन मूल्य तोक्ने, कृषि उत्पादन बृद्धिका लागि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, बाँझो जग्गा उपयोगमा ल्याउने प्रोत्साहन, माटो परीक्षण प्रयोगशाला स्थापना, निशुल्क माटो परीक्षण, ५० प्रतिशत अनुदानमा चुन र सुक्ष्म तत्व वितरण तथा पकेट क्षेत्र, सामूहिक र करार खेतीलाई प्रोत्साहन गर्ने नीति लिइएको बताए।
उहाँले कृषि बीमा कार्यक्रमलाई प्रभावकारी र पहुँचयोग्य बनाई विपन्न कृषकका लागि निशुल्क बीमा कार्यक्रम लागू गर्ने, कृषि तथा पशुबीमा कर्मचारी व्यवस्था गर्ने, कृषि ऋण कोष सञ्चालनका लागि सम्भाव्यता अध्ययन र किसान कर्जा कार्ड परीक्षण गर्ने नीति लिइएको जानकारी दिए। एक वडा एक कृषि उत्पादन कार्यक्रम र प्राङ्गारिक खेती प्रवर्द्धनको क्षेत्र स्थापना गर्ने पनि नीति रहेको उनले बताए।
गाउँपालिकाले आगामी आर्थिक वर्षबाट गरिब तथा विपन्न परिवारलाई अन्त्येष्टि (दाहसंस्कार) का लागि आर्थिक सहयोग गर्ने जनाएको छ। अध्यक्ष कालाखेतीका अनुसार कतिपय विपन्न परिवारमा आर्थिक अवस्थाका कारण अन्त्येष्टिको खर्च व्यहोर्न समस्या भएकोले यस्तो नीति लिइएको हो। पालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलियत दिने नीति पनि लिइएको उनले बताए।








