बागमती प्रदेशको बजेट अनुमोदन प्रक्रियामा बाधा पर्न गएको छ। बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलले सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको भन्दै अवरोध गरेका छन्।
बजेटको पुनर्लेखन गर्न माग राख्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसद्मा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बजेटमा आय-व्ययको विवरण नै नमिलेको आरोप लगाए।
सांसदहरूले नाराबाजी गर्दै “बजेट पुनःलेखन गर, बजेट सन्तुलित बनाऊ, बजेटलाई समावेशी गर, बजेटमा अराजकता गर्न पाइँदैन” जस्ता नारा लगाए। बजेटमा प्रशासनिक शीर्षकमा पनि मापदण्डभन्दा बाहिर गएर बजेट विनियोजन गरेको उनीहरूको आरोप छ।
प्रतिपक्षको असहमति र बैठक अवरोधपछि सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। प्रदेश सरकारले पेश गरेको बजेट महत्वपूर्ण र पारदर्शी नभएको प्रतिपक्षी दलको आरोप छ।








