हेटौंडा – हेटौंडा उपमहानगरको बजार अनुगमन समितिले आइतबार स्थानीय दुई प्रमुख होटलहरूको निरीक्षण गरेको छ। यस क्रममा प्रकाश होटललाई सुधारका लागि १५ दिनको समय दिइएको छ।
हेटौंडा-१० टिसिएन रोडमा अवस्थित प्रकाश होटलको भान्सामा गम्भीर समस्याहरू फेला परेको समितिका सदस्य एवं उपमहानगरपालिकाका खाद्य प्राविधिक एलिना न्यौपानेले बताइन्। उनका अनुसार, होटलको किचेनमा फोहोर, अस्वच्छता, बिग्रिएको फ्रिज र म्याद गुज्रेका खाद्य पदार्थहरू फेला परेका थिए। समितिले प्रकाश होटललाई थ्री-स्टार होटलको मान्यताको प्रमाणपत्र तीन दिनभित्र पेश गर्न पनि निर्देशन दिएको छ।
यसैबीच, हेटौंडा-४ मा रहेको सामना होटलको पनि अनुगमन गरिएको थियो। आइतबार बिहान दिएको खानामा बासी मासु परेको सूचना पछि टोली अनुगमनका लागि सामना पुगेको थियो । आन्तिरक मामिला तथा कानुन मन्त्रालयले गरेको बिपद्मा स्वयमसेवक व्यवस्थापन प्रणाली सम्बन्धी कार्यक्रममा सहभागीमध्य केहीलाई बासी गन्हाएको मटन परेको बताइएको थियो । सामना होटलमा केही सामान्य सुधारका लागि सुझाव दिइएको समितिले जनाएको छ।
अनुगमन टोलीमा वडा अध्यक्ष सविन न्यौपानेको नेतृत्वमा विभिन्न कार्यालयका प्रतिनिधिहरू सहभागी थिए। यस अनुगमनले हेटौंडाका प्रमुख होटलहरूमा स्वच्छता र गुणस्तर कायम राख्न दबाब सिर्जना गरेको छ।