मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमबार भएको गाउँसभामा उपाध्यक्ष सीता पुलामी मगरले बजेट सार्वजनिक गरेकी हुन्।
बजेटका मुख्य स्रोतहरूमा आन्तरिक आय र बैंक मौज्दात, संघीय र प्रदेश सरकारका विभिन्न अनुदान तथा राजस्व बाँडफाँट रहेका छन्। यसमा आन्तरिक आय र बैंक मौज्दातबाट ३० करोड २७ लाख, संघीय सरकारबाट ३५ करोड ३६ लाख र प्रदेश सरकारबाट ६ करोड २८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
खर्चतर्फ संघीय र प्रदेश सरकारका सशर्त र समपुरक अनुदान, प्रशासनिक खर्च, विषयगत कार्यक्रम, वडास्तरीय योजना र गाउँपालिका स्तरीय योजनाहरूमा रकम विनियोजन गरिएको छ। यसमध्ये सबैभन्दा बढी रकम गाउँपालिका स्तरीय योजना र पूर्वाधार विकासमा ३३ करोड ३६ लाख छुट्याइएको छ।
गाउँसभा पालिकाका अध्यक्ष रञ्जन कालाखेतीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।







